नेपालले अमेरिका र ओमानसँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौं , पुस १ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका र ओमानसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिजमा नेपालले ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको हो । नेपालले सन् २०२१ को मार्चमा ओमान र अमेरिकासँग खेल्ने एकदिवसीय सिरिजको खेल तालिकाका आईसीसीले सार्वजनिक गरेको छ ।

कोरोना माहामारीको कारण स्थगित भएको क्रिकेट विश्वकप लिग २ पुनः सुचारू हुन लागेको हो । नयाँ तालिकाअनुसार नेपालले मार्च १९ देखी २८ सम्म ओमानमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने पक्का भएको हो । कोरोनाका कारण स्थगित भएको लिग २ का सबै खेलहरुको तालिका आईसीसीले सार्वजनिक गरेको हो ।

खेलहरु सन् २०२१, २०२२ र २०२३ को सुरुवातमा समापन हुने गरि १४ सिरिजमा बिभाजन गरिएको छ । नेपालले सन् २०२१ जुलाईमा स्कटल्यान्डमा नामिबियासँग सिरिज खेल्ने छ । त्यसपछि नेपालले सन् २०२२ को फेब्रुअरीमा पीएनजी र यूएईसँग खेल्ने छ । सन् २०२२ को जुलाईमा नेपाल अमेरिकासँग खेल्नेछ । त्यहाँ ओमान र नेपालको सिरिज हुनेछ ।

सन् २०२२ को सेप्टेम्बर २२ देखि अक्टोबर २ सम्म पीएनजीमा नेपालले खेल्नेछ । जहाँ यूएईसमेत सहभागी हुनेछ । नेपालले घरेलु मैदानमा सन् २०२३ मा नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ । डिभिजन लिग २ अन्तर्गत अन्तिम सिरिजमा नेपालले सन् २०२३ को फेब्रुअरीमा युएईमा, पीएनजी र युएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्