प्रतिनिधिसभाको नियमित काम अघि बढाउने नेकपाका ११४ सांसदको निश्कर्ष

काठमाडौं , पुस ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ ।

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले यस्तो निश्कर्ष निकालेको हो । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय भेलाले गरेको छ ।

‘प्रतिनिधिसभाको नियमित कार्य अघि बढाउनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ ।सांसदहरुको भेलाले बुधबार नेकपा स‌ंसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ । यसैबीच संसद विघटन असंवैधानिक भएको भन्दै नेकपाका ८७ जना सांसद सर्वोच्च अदालत जाने भएका छन् ।

नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा सांसदहरु सर्वोच्च जान लागेका हुन् । नेकपा नेतृ रामकुमारी झाँक्रीका अनुसार, सांसदहरुको तर्फबाट अधिवृक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी छ ।

संसद विघटन गर्ने निर्णयविरुद्ध सर्वत्र विरोध भइरहेको छ । सत्तारुढ पार्टीकै सांसदहरु सरकारको विरोधमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्