कांग्रेसले पुस १६ गते सरकारविरुद्ध प्रदर्शन गर्ने, प्रवक्ता शर्मा भन्छन् – कांग्रेस एउटै धारणा बनाएर अगाडि बढ्छ

काठमाडौं , पुस ८ । नेपाली कांग्रेसले पुस १६ गते सरकारबिरुद्ध प्रदर्शन गर्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले पुस ५ गते प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गर्दै राजनीतिक रूपमा प्रर्दशन गर्ने भएको हो ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पुस १६ गते मेलमिलाप दिवसमा लोकतन्त्र र संविधानको हमला विरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।मेलमिलापको नीति लिएर कांग्रेस संस्थापक नेता बीपी कोइराला भारतबाट फर्किएको दिनको अवसर पारेर कांग्रेसले संसद् विघटनको विरोध स्वरुप सांकेतिक प्रदर्शन गर्ने निर्णय गरेको बताएको छ ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा विघटनले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको देखाउने बताए । उनले पार्टीले यो कदमलाई निरङ्कुश र असंवैधानिक भएको निष्कर्ष निकाल्दै प्रतिरोध गर्ने निर्णय गरेको जानकारी समेत दिए ।

यता चुनाव अथवा आन्दोलनमा जानेबारे कांग्रेसमा फरकफरक धारणा रहेको भन्ने समाचार आए पनि त्यस्तो नरहेको प्रवक्ता विश्व प्रकाश शर्माले बताए । , “कांग्रेसभित्र आन्दोलनमा जाने र चुनावमा जानुपर्छ भन्ने दुई धार रहेको भन्ने समाचार सञ्चारमाध्यममा आयो । तर त्यो सही होइन, कांग्रेस आन्दोलनमा जाने वा चुनावमा जाने एउटै धारणा बनाएर अगाडि बढ्छ ।” उनले भने ।

आजको बैठकमा गगन थापा, रामशरण महत, आनन्द ढुङ्गाना र बलबहादुर केसीले आफ्नो भनाइ राख्नुभएको थियो । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सबै सदस्यहरूले आ–आफ्नो धारणा राख्न नपाएपछि बुधबार पुनः बैठक बसेको हो ।

यता प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी सप्तरीले बुधबार राजविराजमा प्रदर्शन गरेको छ । स्थानीय शिव मन्दिरको प्राङ्गणबाट निस्केको जासपाको जुलुस राजविराजका विभिन्न भागको परिक्रमा गरेको थियो ।

प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीकाविरुद्ध चर्को नाराबाजी गरेका थिए ।उनीहरूले प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक चरित्र देखाएको तथा जनताको निर्वाचित संसद्लाई जबर्जस्ती विगठन गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्