नेपालका तीन क्रिकेट खेलाडीले युएईमा टी–१० लिग खेल्ने

काठमाडौं , पुस ९ । नेपालका तीन क्रिकेट खेलाडीले युएईमा टी–१० लिग खेल्ने भएका छन् । उनीहरुले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका हुन् । लिग खेल्नलाई तीब्र गतिका बलर करण केसी र सोमपाल कामी तथा युवा खेलाडी कुशल मल्ल लिगमा अनुबन्धित भएका हुन् । टी–१० लिग जनवरी २८ देखि फेब्रुअरी ६ सम्म युएईमा हुनेछ ।

सोमपाललाई मराठा अरेबियन्सले अनुबन्ध गरेको हो। उनले विदेशी लिग खेल्न लागेको यो दोस्रो पटक हो । गतवर्ष उनले क्यानडाको ग्लोबल टी–२० खेलेका थिए । उनी नेपाली टिमका प्रमुख बलर हुन् ।

अर्का बलर करण केसी पहिलो पटक विदेशी लिगमा अनुबन्धित भएका छन् । उनलाई पुणे डेभिल्सले टिममा समावेश गरेको हो । उनी प्रमुख बलरसँगै तल्लो क्रममा लामो सट खेल्ने ब्याट्स म्यानमा पर्छन् ।

यस्तै कुशल मल्ल अल राउन्डर हुन् । उनलाई आबुधाबीले अनुबन्धित गरेको छ । कुशल एकदिवसीय क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने विश्व क्रिकेट कै सबैभन्दा कम उमेरका खेलाडी हुन् । विश्व कीर्तिमानी युवा स्टार कुशल आक्रमक ब्याटिङ गर्ने गर्छन भने स्पीन बलर हुन् ।

यी तीन खेलाडी के कति रकममा अनुबन्धित भए भनेर खुलाइएको छैन । यसरी एकै विदेशी लिगमा तीन खेलाडी ड्राफ्टमा परेको यो पहिलो पटक हो । यसअघि यो लिग पारस खड्का र सन्दीप लामिछानेले खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्