प्रधानमन्त्री कप गण्डकीविरुद्ध सुदूरपश्चिमको सहज जित

काठमाडौं, पुस १४ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले सहज जित निकालेको छ । मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकीविरुद्ध ५९ रनको फराकिलो जित हात पारेको हो ।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०८ रनको लक्ष्य पछएको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ४८ रन बनाउँन सक्यो । गण्डकीका लागि कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ सुदूरपश्चिमका लागि सुनीता लुहारले दुई विकेट लिइन् । त्यस्तै कविता कुँवर, रितु कनोजिया र लक्ष्मी सावदले समान एक-एक विकेट लिन सफल भए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा अल आउट हुँदै मात्र १०७ रन बनाउन सफल भएको थियो ।

आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम प्रदेशले प्रतियोगितामा सुखद सुरुवात गरेको छ । समूह ‘बी’मा रहेको सुदूरपश्चिमले २ अंक जोड्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्