नेप्सेले बनायो फेरि अर्को ऐतिहासिक रेकर्ड, ८८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, पुस १९ । नेप्सेले आज नयाँ रेकर्ड बनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनको कारोबारमै शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ८८ दशमलव १२ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा पुगेको छ ।

यो नेप्सेको इतिहासमा अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड हो । यसअघि गएको बिहीबार नेप्सेमा २ हजार ८७ विन्दुको रेकर्ड बनेको थियो ।

आइतबार कारोबार भएका सबै समूहको शेयर बढेको छ । जीवन बीमा समूहको शेयर ५ सय ५० अङ्कले, निर्जीवन बीमा समूहको २ सय ६८ अङ्कले, उत्पादन समूहको २ सय ६४ अङ्कले, व्यापारको २ सय २१, अन्य समूहको १ सय ३ अङ्कले र बैंकिङ समूहको ७० अङ्कले बढेको छ ।

२ सय १२ कम्पनीका १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ३४ करोड ४० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स र प्राइम कमर्सियल बैंकको ५० करोडभन्दा धेरैको शेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै साल्ट ट्रेडिङ र हिमालयन डिस्टिलरी कम्पनीका शेयरधनीले १० प्रतिशतका हिसाबले कमाएका छन् । समग्र बजारमा उछाल आए पनि राधी जलविद्युत् कम्पनीका लगानीकर्ताले ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन भएको घोषणासँगै नेप्से ओरालो लागेको थिए । तर लगानीकर्ताको मनोबल बलियो हुँदै गएको र बजारमा अधिक तरलता रहेकाले नेप्सेले बुलिस ट्रेन्ड समातेर अगि बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्