धनगढी पुगे प्रधानमन्त्री ओली , विरोधीले गरे टायर बालेर प्रदर्शन, सुरक्षा निगरानी उच्च

काठमाडौं, पुस २४ । कैलालीमा आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली आइपुगेका छन्।प्रधानमन्त्री ओली श्री एयरलाइन्सको हवाई जहाजबाट धनगढी आइपुगेका हुन्।

प्रधानमन्त्री ओली आफू नेतृत्वको नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका हुन्। पार्टी विभाजनपछि उनी पहिलोपटक उपत्यकाबाहिर गएका हुन्।

प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमानस्थल गएनन्।मुख्यमन्त्रीका स्वकीय सचिव शिवसेन ओलीले मुख्यमन्त्री आन्तरिक बैठक र छलफलमा व्यस्त भएका कारण प्रधानमन्त्रीको स्वागतका लागि नगएको बताए।

मुख्यमन्त्री भट्ट प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा छन्। प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताउँदै सडक संघर्ष सुरु गरेको छ।

पार्टीले प्रधानमन्त्रीको कदमविरुद्ध संघर्ष सुरु गरेका कारण मुख्यमन्त्री भट्ट स्वागतका लागि विमानस्थल नगएको बताइएको छ।यसैबीच उनको विरोधमा नेकपाकै दाहाल(नेपाल समूह निकट अनेरास्ववियुका विद्यार्थी नेताहरूले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।

कडा सुरक्षा व्यवस्थालाई छिचोल्दै उनीहरूले टायर बालेर विरोध जनाएका छन् भने केही स्थानमा कालो झण्डासमेत देखाउने तयारी गरेपछि सुरक्षा निगरानी उच्च पारिएको छ ।

प्रधानमन्त्रीको सुरक्षार्थ विमानस्थलदेखि खुला मञ्चसम्म नेपाली सेनाको विशेष टोली समेत परिचालन गरिएको छ। स्थानीय प्रशासनको निर्देशनअनुसार ‘हाई अलर्ट’मा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्भावित घटनालाई ध्यानमा राखेर कडाइ गरेको जनाएको छ।

नेपाल प्रहरीले पनि सुरक्षा रणनीति बनाउँदै जिल्लामा अन्य समयको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सादा पोशाकमा समेत टोली खटाएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिए।

सशस्त्र प्रहरीले समेत प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा योजनालाई थप कडा पारेको छ । नेपाल प्रहरीले जस्तै सशस्त्र प्रहरीले समेत बिहीबारदेखि नै नियमित गस्ती बढाएको छ भने जनसभा आयोजना हुने दिन शुक्रबार पनि कार्यक्रम स्थल लगायत धनगढीका आसपासका क्षेत्रमा सशस्त्र प्रहरी पनि परिचालन गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्