संसद् विघटनविरूद्ध कांग्रेसले भोलि देशव्यापी प्रदर्शन गर्दै , कुन नेताले कहाँबाट गर्दैछन् सम्बोधन ?

काठमाडौं, पुस २४ । नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध भोलि शनिबार देशैभर प्रदर्शन गर्ने भएको छ । पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले शनिबार देशभर प्रदर्शन गर्न लागेको हो।

सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण संसद् विघटन भएको ठहर गरेको कांग्रेसले त्यसविरूद्ध प्रदर्शन गर्न लागिएको जनाएको छ। जसअनुसार कांग्रेसले शनिबार देशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने कांग्रेसको ठहर छ।

देशका विभिन्न ठाउँमा हुने प्रदर्शनलाई केन्द्रीय स्तरका नेताहरुले आफूलाई पायक पर्ने ठाउँमा सम्बोधन गर्ने कांग्रेसका सूचना अधिकारी केशव अधिकारीले जानकारी दिए। जसअनुसार कांग्रेस सभापति शेर बहादुर देउवाले काठमाडौं क्षेत्र नम्बर ५ को बुढानिलकण्ठमा सम्बोधन गर्ने तय भएको उनका स्वकीय सचिव भानु देउवाले बताएका छन् ।

यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं क्षेत्र नम्बर ६ को प्रदर्शनी मार्गमा सम्बोधन गर्ने भएका छन् । कांग्रेस नेता गगन थापाले काठमाडौंको कपनबाट सम्बोधन गर्दैछन्। यसैगरी कांग्रेस नेतृ सीतादेवी यादवले काभ्रेको प्रदर्शनलाई सम्बोधन गर्ने तय भएको छ। अन्य नेताहरुले कहाँबाट सम्बोधन गर्ने भन्ने तय भइनसकेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसको १९ पुसको केन्द्रीय कार्यसमितिको बैठकले पुस २५ मा देशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा, माघ ३ गते देशभरका ७५३ स्थानीय तहमा तथा माघ ८ गते देशभरका सबै स्थानीय तहसहित ६,७४३ वडाहरुमा संसद विघटनविरूद्ध प्रदर्शन गर्ने तय गरेको थियो।

संसद् विघटनविरूद्ध यति बेला देशमा आन्दोल चर्किएको छ । यहि कारण दुईतिहाइको सरकार विभाजित भएको छ । एकै पार्टी अहिले आएर दुई सुमुहमा विभाजित हुन पुगेको हो । ओली समुह र दाहाल नेपाल सुमह भएका छन् । दाहाल र नेपाल समुह ओली विरुद्ध सडकमा आएका छन् । यो समुहले पनि आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्