पार्वतीले जितिन् तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा स्वर्ण

काठमाडौं , पुस २४ । पार्वती गुरुङले प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन् । उनी नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् तेक्वान्दोकी स्वर्णपदक विजेता हुन् । महिला १८–३० वर्षमा नेपाल प्रहरीकी पार्वतीले ७.५० अंक जोडिन् ।

सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगिताको महिला १५ वर्षमा सुपरस्टार तेक्वान्दो डोजाङकी माया मल्ल ६.६६ अंकसाथ पहिलो भइन् । सोही स्पर्धाको पुरुषमा नेप्लिज तेक्वान्दो एकेडेमी ९एनटीए० का आयुश ढुंगेल पहिलो भए । उनले ६.३६ अंक प्राप्त गरे ।

सैलुङ गाउँपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पुरुष १० वर्षमा एनटीएका प्रशान्त धमलाले स्वर्ण जिते । उनले ५.५३ अंक जोडे । पुरुष १२ वर्षमा एनटीएका भिजन तामाङ ५.८० अंक जोड्दै शीर्ष स्थानमा रहे । महिला ३१–४० वर्ष स्पर्धामा ६.३० अंक जोडेकी तृप्ति बुढाथोकी पहिलो भइन् ।

२०० खेलाडी सहभागी दुईदिने प्रतियोगितामा विभिन्न १४ स्पर्धा समावेश छन् । प्रतियोगिताको सैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । सो अवसरमा तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । –फाइल तस्बिर 

प्रतिक्रिया दिनुहोस्