भारतको सर्वोच्च अदालतले लगायो तीन कृषि कानूनमाथि रोक

काठमाडौं, पुस २८ । भारतको सर्वोच्च अदालतले तीनवटा कृषि कानूनमाथि रोक लगाएको छ। अदालतले आज तीन कानूनमाथि रोक लगाउँदै यस सम्बन्धमा वार्ता गर्न एक कमिटी गठन गरेको छ।

भारत सरकारले कृषि सम्बन्धित तीनवटा कानून ल्याएपछि भारतभरका कृषकहरू आन्दोलनमा उत्रिएका थिए। कृषकहरूले सरकारले ल्याएका कानूनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। यसको फैसला सर्वोच्च अदालतले आज गरेको हो।

अदालतले केन्द्र सरकारले बिना छलफल कृषि कानून ल्याएको जनाएको छ।कृषि कानूनविरुद्ध भारतका कृषकहरू एक महिनाभन्दा बढी समयदेखि आन्दोलन गरिरहेका छन्।

भारत सरकारले कृषकसँग गरेको विभिन्न चरणका छलफलहरू निष्कर्षमा पुग्न सकेका थिएनन्। किसानहरुले भने यो कानुनले आफूहरुले यसअघि पाउँदै आएको सुविधा पनि गुम्ने र पुँजीपति वर्गलाई मात्र यो कानुनले फाइदा पुग्ने बताउँदै आएका छन् ।

सरकारले कानून कार्यन्वयनमा रोक नलगाएपछि सर्वोच्च अदालतले आज रोक लगाएको हो। यता भारतमा लामो समयदेखि किसानहरुले यो कानुनको विरोधमा प्रदर्शन गर्दै आएका छन् ।

विभिन्न किसान संगठनहरुले दिल्लीको सीमामा एक महिनादेखि धर्ना दिँदै आएका छन् । उनीहरुले यो कृषि कानुन खारेज हुनुपर्ने माग गरेका हुन् । यद्यपि सरकारले भने यो कानुन किसानहरुको हितलाई ध्यानमा राख्दै ल्याइएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्