अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग प्रस्ताव पेस

काठमाडौं, पुस २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दोस्रोपटक महाअभियोग प्रस्ताव पेस भएको छ । अमेरिकी इतिहासमा एउटै राष्ट्रपतिमाथि दुईपटकसम्म महाअभियोग लागेको यो पहिलोपटक हो ।

डेमोक्रेटिक पार्टीले तल्लो सदन हाउस अफ रिपे्रजेन्टेटिभ्समा सोमबार बिहान राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग दर्ता गरेको द गार्डियनले जनाएको छ । ३ नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनको परिणामलाई आधिकारिक दिन ७ जनवरीमा क्यापिटल हिलमा बसेको बैठकमा ट्रम्पसमर्थकले आक्रमण गरेका थिए । ‘भोट चोरी गरेको’ आरोप लगाउँदै ट्रम्पसमर्थकले बैठक बसिरहेका ठाउँमा तोडफोड गरेका थिए ।

यसैबीच बाइडेनको शपथग्रहणअघि नै ट्रम्पलाई हटाउने कोसिस गर्न थालीएको छ । डेमोक्रेटिकद्वारा प्रस्ताव महाअभियोग पत्रमा ट्रम्पसमर्थकका कार्यशैलीलाई ‘विद्रोहको उत्तेजित’ भनिएको छ भने ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ ।

अमेरिकी संसद् क्यापिटल हिलमा भएको आक्रमण ट्रम्पकै उक्साहटमा भएको पत्रमा उल्लेख छ । यसैगरी महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जोर्जियाका अधिकारीहरूलाई दबाब दिएको पनि पत्रमा उल्लेख छ ।

राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शपथग्रहण गर्दै छन् । सभामुख नेन्सी पेलोसीले ट्रम्पलाई बाइडेनको शपथअघि नै हटाउन कोसिस गरिरहेकी छिन् । महाअभियोग प्रस्ताव पास गर्न माथिल्लो सदनमा पनि दुईतिहाइ बहुमत चाहिन्छ ।

यता डेमोक्रेटिकका उम्मेदवार जो बाइडेन ४६औँ अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले राष्ट्रपति निर्वाचनमा व्यापक धाँधली भएको दाबी गर्दै आइरहेका छन् । ट्रम्पले निर्वाचनको दिनदेखि नै यस्तो टिप्पणी दिइरहेका छन् ।

यसैबीच महाअभियोग दर्ता भएपछि अमेरिकाको विभिन्न राज्यमा ट्रम्पसमर्थकले पु्नः हिंसात्मक कार्य गर्ने अनुमान गरिएको छ । यसैकारण सुरक्षा अधिकारीहरूले ह्वाइटहाउस, क्यापिल हिललगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको द गार्डियनले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्