प्रवक्ता श्रेष्ठ भन्छन् – ओलीको निरंकुशता अब लामो समय टिक्दैन

काठमाडौं, पुस २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्ति अब धेरै समय नटिक्ने बताएका छन् ।

आज पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीको तानाशाही र निरंकुश प्रवृत्ति लामो समयसम्म नचल्ने बताउँदै ओली प्रवृत्तिलाई आफूहरुले परास्त गरेरै छाड्ने दाबि गरे ।

देशलाई अग्रगमनमा लैजान, समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको बताउँदै त्सलाई ओलीले पद प्राप्त गर्ने माध्यम मात्र बनाएको उनले आरोप लगाए ।

प्रवक्ता श्रेष्ठले पार्टीको स्थायी समिति बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले बैठकबाट भागेर असंवैधानिक काम गर्न पुगेको समेत बताए ।

उनले पार्टीमा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने कुनै छलफल नहुँदै ओलीले पदबाट हटाउँछन् कि भन्ने डरका कारण प्रतिनिधि सभा विघटन गर्न पुगेको औंल्याए ।

प्रवक्ता श्रेष्ठले पार्टी विभाजन भएसँगै प्रधानमन्त्री ओली समूहले देशभर प्रधानमन्त्री आोलीले निर्वाचन आयोग र सर्वोच्च अदालतमा सेटिङ मिलाएको र प्रतिनिधि सभा पुनर्स्थापना पनि नहुने, सूर्य चिन्ह र आधिकारि पार्टी आफ्नो हुने हल्ला चलाइरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्