कोरोना खोप यथाशीघ्र र निःशुल्क गर्न कांग्रेसको माग

काठमाडौं, पुस २९ । कांग्रेसले कोभिड– १९ को खोप यथाशीघ्र र निःशुल्क उपलब्ध गराउन माग गरेको छ ।

महामारी फैलिएको एक वर्ष व्यतीत हुँदा पनि सरकारले उपचार र रोकथाममा प्राथमिकता नदिएको र नागरिकको स्वास्थ्यमा खेलवाड गरेको कांग्रेसको ठहर छ ।

कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको बैठकले नागरिकको जीनवप्रति गम्भीर भई व्यवस्थापन गर्न तथा विश्व बजारमा आइपुगेको कोभिड– १९ को खोप नेपालमा यथाशक्य भित्र्याएर जनतालाई उपलब्ध गराउने प्रबन्ध मिलाउन आग्रह गरेको छ । यता सरकारले छिटै खोल ल्याउने तयारी भइरहेको बताउँदै आएको छ ।

साथै विभागले कांग्रेसका नीति, कार्यक्रम, योजना र विचारलाई तल्लो तहसम्म पुर्‍याउन र प्रचार गर्न प्रविधिमैत्री अभियान पनि थालेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको विभागको बैठकले कांग्रेसमा प्रविधिमैत्री अभियान सञ्चालन गर्नेदेखि आन्तरिक सञ्चार रणनीति निर्माणसम्मका विभिन्न निर्णय गरेको छ ।

यस्तै, विभागले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदमविरुद्ध नेपाली कांग्रेसले देशव्यापी रूपमा सञ्चालन गरिरहेको विरोध कार्यक्रममा सहभागिता बढाउन मिडिया तथा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने निर्णय गरेको छ ।

यस्तै कांग्रेसले देशका लागि १५ वर्षसम्म के गर्ने ?  भन्ने परिकल्पनाको प्रारम्भिक खाका तर्जुमा गर्न कार्यदल बनाएको छ । विभागका प्रमुख तथा प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

यस्तै, पार्टीको प्रचारप्रसारका लागि प्रविधिमैत्री अभियान सञ्चालन गर्ने र त्यसका लागि आवश्यक पर्ने विभिन्न अध्ययन–अनुसन्धान कार्यदलहरू गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्