ग्लोबल आइएमई बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न, १६ प्रतिशत लाभांश पारित, अध्यक्षमा फेरी ढकाल

काठमाडौं, पुस २९ । ग्लोबल आइएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बुधबार एक कार्यक्रमकाबीच बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौंमा सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०७६र७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गर्दै बैंकको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६र७७ मा सञ्चालन मुनाफा ४ अर्व १७ करोड रुपैयाँ र कर पछिको मुनाफा २ अर्व ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्व ६३ करोड रुपैयाँ पुग्नेछ ।

आर्थिक वर्ष २०७६/७७ मा बैंकको व्याज आम्दानी तर्फ गत वर्ष भन्दा ६ अर्व ९६ करोड रुपैयाँले वृद्धि भएको छ । आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोना भाईरसको कारणले बैंकको कर्जा लगानी रकममा १ अर्व ९५ करोड रुपैयाँसम्मको जोखिम व्यवस्थापन वापत रकम छुट्याउनु परेकोले बैंकको खुद मुनाफामा ५।३१ प्रतिशतले मात्र वृद्धि भई २ अर्व ९१ करोड रुपैयाँ मात्र कायम हुन सकेको छ ।

हाल बैंकले २ खर्ब ४९ अर्ब रुपैया भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यकासाथ बैंकले ७३ जिल्लामा २६४ शाखा सञ्जाल सहित करिब ८०० सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३ हजार भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब २२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक वर्ष २०७६र७७ को प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै बैं अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताए ।

बैंकले संघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित गरिएको समेत उनले जानकारी गराए ।

साबिकको जनता बैंक नेपालसँग मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबै भन्दा ठूलो र सबल बैंक बनेको बताउँदै, उनले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कोरोना भाईरस महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गर्दै ग्राहकहरुलाई थप प्रभावकारी सेवा पु¥याउने उनले बताए ।

यसैबीच आजै सम्पन्न १४औँ वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ । जसमा अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), शुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहेका छन् ।

नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएका छन् ।  प्रत्यक्ष र भर्चुअल माध्यमबाट गरी सञ्चालन गरिएको बैंकको १४औैैैँ साधारण सभामा बैंकका शेयर सदस्यहरु, कर्मचारी तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्