‘प्रधानमन्त्री र जी न्युजले माफी माग्नुपर्छ’

काठमाडौं, पुस २९ । सरकारविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय न्युज च्यानल जी न्युजले माफी माग्नुपर्ने माग राखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर अन्तर्वार्ता दिएकै भोलिपल्ट भारतीय समाचार संस्था जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपाली अस्मिता र स्वाभिमानमाथि धावा बोल्दै सगरमाथामाथि अत्यन्तै आधारहीन र कपोकल्पित ढंगले दावी पेश गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुले आपत्ति जनाएको छ ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आज एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्री र जी न्युज दुवैले माफी माग्नुपर्ने माग राखेको हुन् ।

नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध लगातार रुपमा विषवमन गर्दै आएको जी न्युजलाई प्रधानमन्त्रीस्तरबाटै बालुवाटारमा स्वागत गरिएको परिघटनाले थप आशंकित र आक्रोशित तुल्याएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अनेरास्ववियुले चौधरी र उनको संचारसंस्थालाई भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले पनि माफी माग्नुपर्ने बताएका छन् ।

‘संविधान लत्याएर प्रतिगमनको बाटोमा हिँडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने ब्यक्ति र संस्थाहरुसंग रहस्यमय र अपारदर्शी भेटघाट र सांठगांठ नगर्न चेतावनी दिन चाहन्छौं ।यसका साथै प्रधानमन्त्री ओलीलाई चौधरीसँगको भेटवारे तत्काल जनतालाई स्पष्ट पार्न, आइन्दा त्यस्ता कुटनीतिक मर्यादा विपरितका भेटघाट नगर्न र यसअघि गरेको कुटनीतिक मर्यादा विपरितका भेटघाटबारे जनता समक्ष अविलम्ब माफी माग्न जोडदार माग गर्दछौं ।’, विज्ञप्तिमा भनिएको छ ।

अखिलले प्रधानमन्त्रीलाई अपारदर्शी र कुटनीतिक मर्यादा विपरितका भेटघाट नगर्न र यसअघि गरेका कुटनीतिक मर्यादा विपरितका भेटका लागि समेत माफी माग्न माग गरेको छ।

जी न्युजका सम्पादक सुधीर चौधरीले सगरमाथामा भारतको पनि दावी हुनुपर्ने बताएका थिए। भारतीय टेलिभिजन जी न्युजको ‘डीएनए’ कार्यक्रममा काठमाडौंदेखि सगरमाथाको बेसक्याम्पसम्मको भिडियो डायरी प्रसारण गर्दै चौधरीले यस्तो दावी गरेका थिए।

सगरमाथाको बेसक्याम्पसम्म पुगेका चौधरीले सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएकाले उनैको नामबाट यसको नामाकरण हुनुपर्ने समेत बताएका छन्।

यता नेकपा विभाजित भएसँगै प्रचण्ड निकट सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा अनेरास्ववियूको एक समूह प्रधानमन्त्री ओलीको विरोधमा छ। त्यस्तै ऐन महरको नेतृत्वमा रहेको अर्को अखिलको समूहले प्रधानमन्त्रीको कदमको समर्थन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्