मंसिरमा पनि बढ्यो रेमिट्यान्स, ५ महिनामा भित्रियो ४ खर्ब १७ अर्ब

काठमाडौं , पुस २९ । कोरोना महामारीमा नेपाल भित्रिने रेमिट्यान्स घट्न सक्ने अनुमानविपरीत बढेको छ । चालु आर्थिक वर्षको पाँचौं महिनामा पनि रेमिट्यान्स बढेको हो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको पाँच महिनाको तथ्यांकका आधारमा तयार पारेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थामा प्रतिवेदना मंसिर मसान्तसम्ममा रेमिट्यान्स १०.९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ प्राप्त भएको उल्लेख छ ।

गत आर्थिक वर्षको सुरुको पाँच महिनामा भने आघिल्लो आर्थिक वर्ष ०७५/७७ को तुलनामा रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो । नेपाली मुद्रामा मात्रै नभएर अमेरिकी डलरमा रेमिट्यान्स ६.४ प्रतिशतले वृद्धि भई तीन अर्ब ५२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कोभिड १९ नियन्त्रणको लागि गत चैतदेखि सरकारले गरेको चार महिना लामो लकडाउन र तयसपछि पनि श्रम स्वीकृति खुल्न नसक्दा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकर) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । गत आवमा सोही अवधिमा भने भने यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो ।

अन्तिम श्रम स्वीकृति मात्रै नभएर पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि यस अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।

यस्तै मंसिर मसान्तसम्म खुद ट्रान्सफर ८.५ प्रतिशतले बढेर ४ खर्ब ५९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्