निर्वाचन आयोगलाई ओलीको पत्र – नेकपा फुटेको छैन, प्रचण्ड अझै दोस्रो अध्यक्ष छन्

काठमाडौँ , पुस २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग नेकपा बिभाजन नभएको भन्दै पत्र लेखेका छन् ।

आयोगले सात दिनको समय दिएर पार्टीको आधिकारिकता दाबि गर्न भनेपछि त्यसको जवाफमा ओलीले बुधबार पार्टी बिभाजन नभएको र अहिलेपनि पार्टी एकतापछि कायम रहेको आफु पहिलो अध्यक्ष र पुष्पकमल दाहाल प्रचण्ड दोस्रो अध्यक्ष कायम रहेको उल्लेख गरेका छन् ।

पत्रमा ओलीले वरिष्ठ नेतामा माधवकुमार नेपाल कायम रहेको समेत उल्लेख गरेका छन् ।

उनले आयोगलाई लेखेको पत्रमा भनेका छन्,‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु । द्वितीय अध्यक्षमा पुष्पकमल दाहाल रहनु भएको छ । ’

नेपाललाई अध्यक्ष बनाइएको भन्ने प्रचण्ड–नेपालले आयोगलाई पठाएको पत्राचार र दाबीको कुनै औचित्य र वैधानिकता नभएको पत्रमा उल्लेख छ ।

पत्रमा लेखिएको छ, ‘मेरो नेतृत्वमा आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरी सो महाधिवेशन नभएसम्मका लागि पार्टीको प्रमुख पदाधिकारी तथा प्रथम अध्यक्षको नाताले पार्टी एकीकरण गर्दाको मर्म, भावना अनुरुप र विधानको धारा १८ (झ)(२) र ५ बमोजिम गठन भएको केन्द्रीय कमिटीमा पुष्पकमल दाहाल साविकमा झै दुई नम्बर अध्यक्ष हुनुहुन्छ, अर्को दाबीकर्ता माधवकुमार नेपाल वरिष्ठ नेता रहनु भएको छ । यसरी नै उहाँहरुले पेश गरेको भेलाको माइन्युटमा हस्ताक्षर गर्ने साथीहरुमध्ये धेरैले मिति २०७७ पुस ७ र ९ गते बालुवाटारमा महासचिव अध्यक्षको परामर्शमा बोलाउनु भएको बैठकमा हस्ताक्षर गर्नु भएको छ ।’

पत्रमा पुस ७ र ९ गते बालुवाटारमा महासचिव अध्यक्षको परामर्शमा बोलाएको बैठकमा सूचना दिइएको भएपनि कुनै भोज वा यस्तै कार्य परि आउन नसकेको अवस्थामा केन्द्रीय कमिटीका अत्याधिक सदस्यको उपस्थितिमा भएको निर्णय आतोग्मा पठाएको उल्लेख गरिएको छ ।

आयोगले त्यसमा राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र पार्टीको विधानअनुसार आवश्यक सुधारसहितको विवरण पठाउन सात दिनको समय दिएको थियो ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएयता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल तथा नेपाल पक्षले आयोगमा एकले अर्कालाई कारबाही गरेको भन्दै पत्राचार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्