प्रचण्ड-नेपाललाई प्रधानमन्त्री ओलीले भने -सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्

काठमाडौं, माघ ३ ।  प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड(नेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्कन आग्रह गरेका छन्।

काठमाडौंमा शनिबार आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेका प्रचण्डले अहिले सूर्य चिह्न मेरै हो भन्ने अधिकार नभएको पनि बताए ।

‘हिजो सूर्य चिह्नमा चुनाव लड्न सहमति गरेर तोड्ने काम गर्ने तपाईंलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्, बैठकमा आउनुस्,’ उनले भने ।

आफू र प्रचण्डबीच २०७४ असोज १४ गते सूर्यमै चुनाव लड्ने सहमति भए पनि दुई दिनमै उक्त सहमित तोडिएको उनले बताए।सूर्य चिह्न भएका कार्यकर्ताले समेत अर्को चिह्नमा भोट हालेर मात्रै प्रचण्डले जितेको उनको भनाई थियो।

यस्तै देशका राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोग लगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेको भन्दै ओलीले आक्रोश व्यक्त गरे ।

पार्टी अध्यक्ष रहेको आफूविरुद्ध अराजक, अनुशासनहीन ढंगले सडक र सञ्चारमाध्यमहरुमा गएर बोल्ने काम भएको पनि उनले आरोप लगाए ।साथै ओलीले निर्वाचन आयोगलाई आफ्नो काम गर्न नदिएर प्रचण्ड–नेपाल पक्षले गैरराजनीतिक र अमर्यादित काम गरेको बताएका छन् ।

आयोग सधै निर्वाचनको तयारीमा रहने संस्था भएको र निर्वाचन घोषणा भइसकेको सन्दर्भमा उसले आफ्नो काम गरिरहेकाले उक्त काम रोक्ने भन्ने कुरा हुनै नसक्ने उनको भनाई छ । यता नेकपाका युवा नेता योगेश भट्टराई तर्फ लक्षित गरी उनले मेहनत गरेर स्थापित गरेको तर अहिले आफैलाई धोका दिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्