भारतले दियो नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप , भोलि काठमाडौं आइपुग्ने

काठमाडौं , माघ ७ । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप उपलव्ध गराएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उक्त खोप भोलि नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने उनले जानकारी दिए ।

प्रथम चरणको यो खोपले नेपालमा अग्रपंक्तिमा खटिने योद्धाहरूलाई कोरोनाविरूद्ध लड्न मद्दत पुर्‍याउने नेपालका भारतीय राजदूत विनय मोहन क्वात्राले बताए । बाँकीका लागि दोस्रो चरणमा खरिद प्रक्रिया अघि बढाइने जनाइएको छ ।

स्वास्थ मन्त्रालयमा अयोजित पत्रकार सम्मेलनमा नेपालका लागि भारतीय राजदूत क्वात्राले यो भ्याक्सिन नेपाललाइ पहिलो प्राथमिकतामा राखेर उपहार स्वरुप दिएको बताए ।

कार्यक्रममा मन्त्री त्रिपाठीले कोभिड महामारीमा भारत सरकारले नेपालसहित छिमेकी देशहरुलाई समयमै खोप उपलव्ध गराई महानता देखाएको भन्दै प्रशंसा गरेका छन्।

यो खोप भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिन लागेको हो । पत्रकार सम्मेलनमा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि सहभागिता रहेको थियो ।

यसैबीच भारतले नेपाललगायत छिमेकी मुलुकलाई आजदेखि कोरोनाबिरुद्धको खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो ।

भारतले नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदान दिने तयारी गरेको थालेको हो ।

प्रतिक्रिया दिनुहोस्