सेयर बजारमा नयाँ रेकर्ड , ३१ दसमलव ८७ अंकले बढ्यो नेप्से

काठमाडौं , माघ ८ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्से १ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा २४०० अंकको विन्दु नजिक पुगेको छ ।

बिहीबार नेप्से ३१.८७ प्रतिशत वृद्धि हुँदा २३७४.६४ अंकमा बन्द भएको छ । पछिल्लो समय हरेक कारोबार दिनमा ‘अल टाइम हाई’ को रेकर्ड राख्दै आएको नेप्सेले बिहीबार पनि नयाँ उचाइ बनाएको हो ।

बुधबार नेप्से अल टाइम हाई २३४२.७७ अंकमा बन्द भएको थियो । आज २३७२.८६ अंकमा खुलेको नेप्से उचाचढावका बीच इन्ट्रा–डे कारोबारमा २३७६.९३ अंकको माथिल्लो विन्दु र २३५४.५३ अंकको तल्लो विन्दुका बीचमा घुमेको थियो । नेप्सेले आजको कारोबार दिनमा कायम गरेको २३७६.९३ अंकको विन्दु पनि इन्ट्रा–डे कारोबारको अल टाइम हाइ रेकर्ड हो ।

बिहीबार नेप्से १.३६ प्रतिशले वृद्धि हुँदा बजारमा करिब ८ अर्बको कारोबार भएको छ । आज नेप्सेमा ६९ हजार ३३३ वटा कारोबारमा २०९ कम्पनीको १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता सेयर कारोबार हुँदा ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ ।

बजारमा सबैभन्दा ठुलो हिस्सा रहेको बैंकिङ उपसूचक घट्दा पनि निर्जीवन बिमा र लघुवित्तको र हाइड्रोपावरको उपसूचकले नेप्सेलाई उचालेको छ ।

बैंकिङ समूहको उपसूचक ०.२२ अंक र म्युचुअल फन्डको उपसूचक ०.४३ प्रतिशतले ओरालो लागे पनि त्यसबाहेक सबै समहुको उपसूचकमा हरीयाली देखिएको छ ।

निर्जीवन बिमाको उपसूचक सर्वाधिक ४.९६ प्रतिशतले वृद्धि हुँदा लघुवित्तको सूचक ४ प्रतिशतले बढेको छ । यस्तै हाइड्रोपावरको सूचक पनि ३.७७ प्रतिशत वित्त कम्पनी समूहको सूचक २.८४ र जीवन बिमा समूहको सूचक २.७१ प्रतिशतले वृद्धि भएको छ ।

बजार परिसूचक नेप्से १ प्रतिशत माथिले वृद्धि हुँदा २२ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा प्रभु लाइफ सिद्धार्थ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र चुक्ता पुँजी कम रहेको लघुवित्त, र क्षेत्रीय स्तरका विकास बैंक, वित्त कम्पनी र केही हाइड्रोपावर रहेको छन् । जसमध्ये १० वटा लघुवित्त रहेका छन् । लगातार सर्किट लाग्दै आएको नारायणी विकास बैंकको सेयर मूल्य बिहीबार भने ६.७० प्रतिशले घटेको छ ।

कारोबार रकममा बजारको नेतृत्व नेपाल लाइफले लिएको छ । कम्पनीको ५३ करोड ३३ लाख १२ हजारको कारोबार हुँदा नेको इन्स्योरेन्सको २६ करोड ६४ लाख ४८ हजार र नेपाल पुनर्बिमा कम्पनीको २२ करोड ९९ लाख ४७ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्