संसद विघटनः सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं , माघ ११ । प्रतिनिधि सभा विघटको सूचना छापिएको नेपाल राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेताहरु शशी श्रेष्ठ, कृष्णभक्त पोखरेललगायतले आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन दिएका हुन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको सूचना शुक्रबार मात्रै सार्वजनिक भएको थियो ।

बिहीबार ९माघ ८ गते० सर्वोच्च अदालतमा बसहका क्रममा अधिवक्ताहरुले संसद विघटनको सूचना राजपत्रमा नछापिएको भनेर प्रश्न उठाएपछि अदालतले राजपत्र पेश गर्न भनेको थियो ।

त्यसपछि रातारात राजपत्र तयार पारी शुक्रबार सर्वोच्च अदालतको इजलासमा पेश गरिएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन् ।

संसद विघटनका विरुद्ध सर्वोच्चमा परेका दर्जनबढी रिटबारे सर्वोच्चको संवैधानिक इजलासमा गत आइतवारदेखि निरन्तर बहस भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्