घरबाट भागेका देवर–भाउजु दुबैको मृत्यु, विष सेवन गरेको आशंका

काठमाडौं, माघ ११ । घरबाट भागेका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजुको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजुसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए ।

महेन्द्रनगरको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजुको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

‘भाउजुको हिजो बेलुकी ५ः१५ बजे र देवरको राति ११ः३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ।’ देवर–भाउजु कहाँ जान यहाँ आइपुगेको भन्नेबारे समेत खुल्न सकेको छैन ।

‘उपचारमा रहेका कोलीले भाउजुले के को पात दिइन्, खाँदा बिरामी परें भन्थे’, थापाले भने, ‘उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।’ प्रहरीका अनुसार दुबैको शव महाकाली अस्पतालमा राखिएको छ । प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्