अर्थ मन्त्रालयले भन्यो- अर्थतन्त्रमा कोभिड १९ को प्रभाव क्रमशः कम हुँदै जान थालेको छ

काठमाडौं , माघ ११ । विश्वभर फैलीएको कोरोनाले विश्वको अर्थतन्त्रमा नै असर परेको थियो तर पछिल्लो समय अर्थ मन्त्रालयले अर्थतन्त्रमा कोभिड १९ को प्रभाव क्रमशः कम हुँदै गएको बताएको छ ।

कोरोना भाइरसको प्रभाव कम हुँदै जाँदा आर्थिक क्रियाकलाप पुनः संचालन हुन थालेको भन्दै मन्त्रालयले यस्तो बताएको हो ।
चालु आर्थिक वर्ष २०७७र७८ को मंसिरसम्मको अर्थतन्त्रबारे विवरण सार्वजनिक गर्दै मन्त्रालयले सरकारी खर्च र राजस्व संकलनमा समेत सुधार भइरहेको बताएको छ । तथ्यांकअनुसार ५ महिनामा सरकारले कुल ३ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा सरकारी खर्च २ खर्ब ९८ अर्ब ७० करोड थियो । सरकारी खर्च बढेपछि पूँजिगत खर्च भने यो वर्ष खुम्चिएको छ । ५ महिनामा ३५ अर्ब ९४ करोड रुपैयाँ मात्र पूँजिगत खर्च भएको छ । गत आवको यो अवधिमा पूँजीगत खर्च ३७ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

मंसिरसम्म भएको खर्च कुल लक्ष्यको २२।२७ प्रतिशत हो । कोभिड संक्रमणको जोखिमका कारण विकास निर्माणका काम संचालनमा कठिनाई हुँदा पूँजिगत खर्च अपेक्षित नभएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

यस अवधिमा भन्सार विन्दुमा संकलन हुने राजस्व बढेको मन्त्रालयको भनाई छ । चालु आवको मंसिरसम्म संघीय सरकारको कुल राजस्व ३ खर्ब १ अर्ब २९ करोड रुपैयाँ रहेको छ । यो गत आवको यसै अवधिको तुलनामा २।४ प्रतिशत कम हो । यद्दपी गत आवको यस अवधिमा कोरोना भाइरसको कुनै प्रभाव भने थिएन । अर्थ मन्त्रालयका अनुसार मंसिरसम्म सरकारले भन्सार महसुल लक्ष्यको ९६.१८ प्रतिशत अर्थात ७४ अर्ब ६४ करोड उठाएको छ । मूल्य अभिवृद्धि कर लक्ष्यको ८७.७७ प्रतिशत अर्थातः १ खर्ब १४ अर्ब १० करोड उठेको छ ।

अन्तःशूल्क भने लक्ष्यको ८२.०३ प्रतिशत उठेको छ । आयकर भने लक्ष्यभन्दा माथि उठेको छ । अर्थ मन्त्रालयका अनुसार आयकर १०५.३४ प्रतिशत अर्थातः ५१ अर्ब ३६ करोड रुपैयाँ संकलन भएको हो । यो वर्ष गैरकर राजस्वमा भने कमी देखिएको छ । गैरकर राजस्व मंसिरसम्मको लक्ष्यको मात्र ५६.२६ प्रतिशत संकलन भएको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा वैदेशिक सहायता प्रतिवद्धतामा ३१ प्रतिशतको वृद्धि देखिएको छ । पैठारीमा सामान्य संकुचन आउँदा निकासमा वृद्धि भएको समेत मन्त्रालयले जनाएको छ । सोधनान्तर स्थिति बचतमा रहँदा बाहृय क्षेत्रको स्थायित्व मजवुत भएको मन्त्रालयको विश्लेषण रहेको छ ।

नेप्से परिसूचक र बजार पूँजिकरणमा उल्लेख सुधार भएको र बीमाको प्रिमियम संकलनमा समेत वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । यसले वित्तीय क्षेत्रका परिसूचक सकारात्मक बनाउन भूमिका खेलेको मन्त्रालयले जनाएको छ ।

लामो समयसम्म कोरोनाका भाइरसका कारण देशको अर्थतन्त्रमा निकै नै गिरावट आएको थियोृ अब भने विस्तारै जनजिवन पनि सहजै हुनथालेको छ भने कोरोनाविरुद्धको खोप पनि आएसकेको छ ।

प्रतिक्रिया दिनुहोस्