बुधबार बिहान १० बजेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै , प्रधानमन्त्री ओलीले शुभारम्भ गर्ने

काठमाडौँ, माघ ११ । नेपालमा आगामी १४ गते बुधवार बिहान १० बजे कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहान १० बजे कोरोनाभाइरसविरुद्धको अभियान थालीने जनाकारी दिएका हुन् । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत सुरुवात गर्ने पनि उनले जानकारी दिए ।

मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा मन्त्री त्रिपाठीले खोप अभियानको शुभारम्भ बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताएका हुन् । भर्चुअल कार्यक्रममा सातवटै प्रदेशका प्रदेश अस्पताल र काठमाडौँ उपत्यकाका प्रमुख अस्पतालहरू जोडिने पनि मन्त्री त्रिपाठीले जानकारी दिए ।

बुधवार ६६ वटा अस्पतालका एक सय २० भन्दा धेरै खोप केन्द्रबाट खोप लगाउन सुरु गरिने र माघ १८ गतेभित्र ७७ वटै जिल्लाका अस्पतालहरूबाट खोप लगाउन सुरु गरिने पनि उनले जनाकारी गराए ।
पहिलो चरणको खोप कार्यक्रममा झण्डै चार लाख ३० हजार मानिसलाई खोप लगाउने तयारी रहेको उनले बताए । साथै उनले यो काम १० दिनभित्र सक्ने पनि उनको भनाइरहेको थियो ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको १० लाख डोज खोप सातवटै प्रदेशमा पठाउने काम भइरहेको पनि उनले बताए । साथै उनले खोपको तेस्रो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएकाले ढुक्क भएर लगाउन पनि सबैमा आग्रह गरे ।

पहिलो चरणमा यीनीहरुलाई दिइनेछ प्राथमीकता

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा काम गर्ने कर्मचारीलगायतलाई खोप दिने मन्त्रालयले जनाएको छ ।

दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए बताए ।भारत सरकारले बिहीबार (यही माघ ८ गते) अनुदानमा सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको हो ।

माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।

सातवटै प्रदेशमा तोकिए संयोजक

मन्त्रालयले खोप अभियान तथा व्यवस्थापनका लागि सातवटै प्रदेशका लागि संयोजक तोकेको छ ।
प्रदेश स्वास्थ्य निर्देशकसँग समन्वय गरी खोप अभियान र व्यवस्थापनलाई सहज बनाउन सातै प्रदेशमा संयोजक तोकिएको हो ।

प्रदेश १ मा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल, प्रदेश २ मा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्याय, बाग्मती प्रदेशमा मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी, गण्डकी प्रदेशमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई संयोजक तोकिएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकोटा, कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेललाई संयोजकका रूपमा खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्