नेकपाका दुवै पक्षसँग आज निर्वाचन आयोगले छलफल गर्दै

काठमाडौं, माघ १६ । निर्वाचन आयोगले आज  नेकपाको दुवै पक्षसँग छलफल गर्दैछ । आयोगले आफूलाई आधिकारिक पार्टी दाबी गरिरहेका नेकपाका दुवै पक्षसँग छलफल गर्न बोलाएको हो ।

नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छुट्टाछुट्टै पत्र पठाएको आयोगले आज दुवै पक्षसँग छलफल गर्न लागेको हो ।

निर्वाचन प्रयोजनका लागि नेकपाका दुवै समूह अध्यक्ष वा अध्यक्षले तोकेका ५–५ जनालाई आज  बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

आगामी वैशाख १७ र २७ घोषित निर्वाचनलाई लिएर आयोजले दल दर्ता प्रक्रिया अगाडि बढाउनुअघि नेकपाका दुई समूहलाई छलफलमा बोलाएको हो । प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबार नेकपा आधिकारिकता विवादसम्बन्धी विषयमा समेत छलफल हुने बताए ।

आयोगले नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई अस्वीकार गर्दै दुवै पक्षलाई आधिकारिकता नदिने निर्णय गर्दै माघ १२ पत्र पठाएको थियो । आयोगले बोलाएको छलफलमा जाने–नजाने भन्नेबारेमा नेकपाका दुबै पक्षको कुनै प्रतिक्रिया बाहिर आएको छैन ।

प्रतिक्रिया दिनुहोस्