दल दर्ता र निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई ओली समूहको आग्रह, प्रचण्ड–नेपाल समूहले माग्यो थप समय

काठमाडौं, माघ १६ । निर्वाचन आयोगलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले दल दर्ता र चुनावको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।

शुक्रबार निर्वाचन आयोगमा भएको छलफलमा ओली समूहका तर्फबाट सहभागी भएका नेताहरुले यस्तो आग्रह गरेका हुन् । उनीहरुले चुनावका लागि आयोगले गरेको तयारी र दल दर्ताको प्रक्रियालाई अगाडि बढाउन आग्रह गरे ।

ओली समूहका विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरुले भने आयोग पुगेर छलफल गरेका हुन्। छलफलमा उनीहरुले सर्वोच्च अदालतबाट आदेश जारी भइनसकेकाले आयोगले निर्वाचनको प्रक्रिया बढाउनुपर्ने बताएका छन्।

छलफलपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा नेता नेम्वाङले चुनाव गराउन निर्वाचन आयोग पूर्ण रुपमा तयारी रहेको बताए। आफूहरुले पनि चुनाव गराउन साथ र समर्थन रहने बताएको उनको भनाई छ । उनले निर्वाचन आयोगले आफूहरुलाई आधिकारिता दिएको पनि दाबी गरे।

आयोगले दल दर्ता र निर्वाचन प्रक्रियाका लागि नेकपाका दुवै समूह (प्रचण्ड–नेपाल र ओली समूह) लाई आज छलफलका लागि बोलाएको थियो। तर, प्रचण्ड–नेपाल समूह भने सहभागी भएन् ।

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल राजनीतिक कार्यक्रमका लागि काठमाडौं बाहिर रहेकाले उनीहरु सहभागी नभएको बताएको छ । उनीहरुले यसका लागि समय मागेका छन् । माघ १८ गतेपछि मात्र छलफलमा आउनसक्ने उक्त समुहले जनाएको छ।

यता केहीदिनअघि आयोगले नेकपाका दुवै समूहले गरेको फेरबदललाई अस्वीकार गरेको थियो। प्रचण्ड–नेपाल समूहले पनि आफूहरु आधिकारि भएको दाबी गर्दै आएका छन्।

गत पुस ५ गते सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा अनौपचारिक रुपमा विभाजित भइसकेको छ । दाहाल नेपाल समुह अहिले ओली सरकारविरुद्ध आन्दोलन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्