क्यान्सर दिवसः देशभर ६० हजार रोगी, हरेक वर्ष हुन्छ १३ हजारको मृत्यु

काठमाडौं, माघ २२ । आज विश्व क्यान्सर दिवस १ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । क्यान्सरबारे जनचेतना फैलाउने उदेश्यसहित नेपालमा २० वर्षदेखि फेबु्रअरी ४ तारिखका दिन यो दिवस मनाउन थालीएको हो ।

एक तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष क्यान्सरबाट १३ हजार बढी व्यक्तिको मृत्यु हुने गरेको खुलेको छ । अबूर्द रोग निवारण संस्थाका अनुसार नेपालमा झण्डै ६० हजार क्यान्सर रोगी रहेका छन् । ५ वर्ष यता भने ४३ हजार व्यक्तिले पूर्ण रूपमा क्यान्सर रोग जितेका छन् । सन् २०२० मा २ हजार ५ सय १७ जना नयाँ क्यान्सर रोगी भेटिएका छन् ।

नसर्ने रोगहरू मध्ये क्यान्सरका कारण नेपालमा धेरैले ज्यान गुमाउनु परेको छ । । जीवनशैली, खानपान र वशांणुगत कारणले धेरै मानिसमा क्यान्सर देखिने गरेको चिकित्सकहरूले बताएका छन् । । क्यान्सर धुम्रपान, मद्यपान सेवन, पोलेको, तारेको खानेकुराका कारण पनि लाग्ने चिकित्सक बताउँछन् ।

मानिसको शरीरको जीनमा विकृति आयो भने क्यान्सर रोग लाग्छ । ५ देखि १० प्रतिशत क्यान्सर रोग वंशाणुगत कारणले देखिने गर्छ । हाल नेपालमा फोक्सो, स्तन र महिलाहरूको पाठेघरको मुखको क्यान्सर बढी देखिने गरेको छ ।

क्यान्सरको जोखिम कम गर्न स्वस्थकर खानेकुरा खाने, परिवारको सदस्यमा क्यान्सर देखिएको छ भने अन्य व्यक्तिले समय–समयमा परीक्षण गर्नुपर्ने चिकित्सकहरूको सुझाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्