भारतसँगको पहिलो टेस्टमा इङ्ग्ल्याण्ड २२७ रनले विजयी

काठमाडौं, माघ २७ । भारतसँगको पहिलो टेस्ट इङ्ग्ल्याण्डले दुई सय २७ रनले जितेको छ । चेन्नईमा चार सय २० रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिन एक सय ९२ रन बनाउँदा अलआउट भएपछि इङ्ग्ल्याण्ड दुई सय २७ रनले विजयी भएको हो ।

भारतका लागि कप्तान विराट कोहलीले सबैभन्दा धेरै ७२ रन बनाए । रोहित शर्मा १२, शुभमन गिल ५०, चेतेश्वर पुजारा १५, ऋषभ पन्त ११, रविचन्द्रन अश्विन नौ, जसप्रीत बुमराह चार र इशान्त शर्मा पाँच रनमा आउट भए । अजिन्क्या रहाणे, वाशिङट्न सुन्दर र शवाज नदीमले खाता खोल्न सकेनन् ।

इङ्ग्ल्याण्डका ज्याक लिचले चार, जेम्स एण्डरसनले तीन तथा जोफ्रा आर्चर, डोम बेस र बेन स्टोक्सले एकरएक विकेट लिए । पहिलो पारीमा इङ्ग्ल्याण्डले पाँच सय ७८ रन बनाएको थियो भने भारत तीन सय ३७ रनमा अलआउट हुँदै दुई सय ४१ रनले पछि परेको थियो ।

दोस्रो पारीमा इङ्ग्ल्याण्ड एक सय ७८ रनमा अलआउट भएपछि भारतले चार सय २० रनको लक्ष्य पाएको थियो । यो जितसँगै चार खेलको टेस्ट शृङ्खलामा इङ्ग्ल्याण्डले एक–शून्यको अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्