सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउँदै सरकार , के होला त टीकटक बन्द ?

काठमाडौँ, माघ ३० । सरकारले सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् ।

मन्त्रालयले आयोजना गरेको दोलखाली पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् । सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको उनले जनाकारी गराए । यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने समेत उनले बताए ।

सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याउने तयारी मात्र गरेको बताउँदै सरोकारवालापक्षसँग छलफल गरेर मात्र यसलाई अन्तिम रुप दिने मन्त्री गुरुङको भनाइ रहेको थियो ।
यसैबीच मन्त्री गुरुङले पत्रकारिताको गरिमालाई उठाउनका लागि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी कुनै निर्देशिका बनाउन लागिएको भने नभएको उनले बताए ।

मन्त्री गुरुङले फेसबुक, ट्विटर, युट्युब, भाइबर, इमो, ह्वाट्सअप, इन्स्टाग्राम, म्यासेन्जर, वी च्याट, टीकटकलगायत सामाजिक सञ्जाल नेपालभित्र अनिवार्य रूपमा दर्ता गर्ने व्यवस्था भएमा हिंसा, अपराधजस्ता अप्रिय घटनमा कमी आउने उद्देश्यले मात्र नियमन गर्ने निर्देशकाको विषयमा छलफल भइरहेको स्पष्ट पारेका छन् ।

यता सामाजिक सञ्जालले गर्दा नै बालबालिक यौन शोषणमा पनि पर्ने गरेको एक अध्यनले देखाएको छ । यसबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप पनि बढ्दै गएका छन् । यसले पनि सरकारले यो कदम चाल्नु परेको हो ।

प्रतिक्रिया दिनुहोस्