‘ एकातिर आन्दोलन, अर्को तिर निर्वाचनको तयारी ’

काठमाडौं, फागुुन २ । प्रतिनिधिसभा विघटन पछि दुई समुहमा विभाजित भएको नेकपाका दुवै समूह जनता आफ्नो पक्षमा रहेको देखाउने होडमा लागेका छन् ।

विघटन सही भएको पुष्टि गर्न ओली समूह लागेको छ भने दाहाल–नेपाल समूहले विघटन असवैधानिक भन्दै सडक संघर्षमा होमिएको छ । दुवै समुहले काठमाडौं लगायत देशका विभिन्न स्थानमा एक पछि अर्को सभा सम्मेलन आयोजना गर्दै आएका छन् ।

नेकपाकै ओली समुह निर्वाचनको तयारीमा जुटिसकेको छ भने अर्को दाहाल नेपाल समुह आन्दोलनमै होमीएको छ । यसरी आन्दोलनकै बीचमा निर्वाचन आयोग भने निर्वाचनको तयारीमा जुटि सकेको छ । आज मात्रै आयोगले विभन्न राजनितीकदलका नेतालाई छलफलका लागि बोलाएको थियो । छलफलकै क्रममा आयोगले आगामी मध्यावधि निर्वाचनमा खर्च व्यवस्थापन र प्रचारलाई कडाइ गर्ने गरी आचारसंहिता ल्याउने तयारी गरेको छ ।

निर्वाचन आचारसंहिता बारे आयोगले आज गरेको सर्वदलीय छलफलमा आगामी निर्वाचनमा खर्च व्यवस्थापन र प्रचारप्रसारलाई कडाई गर्ने गरी आचारसंहिता ल्याउने थ तयारी आयोगले थालेको छ ।
खर्च व्यवस्थापन र प्रचारलाई कडाई गर्ने भने पनि आयोगले अघिल्लो निर्वाचनमा चौतर्फी बिरोध भएको हेलिकप्टर चार्टर्ड गर्ने छुट भने दिएको छ ।

यस्तै, आयोगले आचारसंहिता उल्लंघन गरेमा एक लाख जरिवाना र उम्मेद्वारी खारेज गर्ने व्यवस्था गर्ने भएको छ । यसैबीच छलफलमा सहभागि नेकपाको दाहाल–नेपाल समूहका नेता लिलामणी पोखरेलले संसदमा ६४ प्रतिशत जनमत भएको पार्टीको विवाद समाधान नगरी कसरी चुनाव हुन्छ भन्दै आयोगलाई प्रश्न गरेका छन् ।

प्रतिपक्ष दल नेपाली कांग्रेसको तर्फबाट सर्वदलिय बैठकमा सहभागि नेता आनन्दप्रसाद ढुंगानाले चुनावको मुखमा हातहतियार प्रर्दशन, सरुवा बढुवा लगायत निर्वाचन प्रभावित हुने गतिविधि नियन्त्रणमा कडाई गर्नुपर्ने औंल्याएका छन् ।

छलफलमा सहभागि साना राजनीतिक दलका प्रतिनिधिहरुले भने निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाएका छन् । निर्वाचन आयोगले आगामी निर्वाचन केन्द्रीत आचारसंहिता मस्यौदालाई अन्तिम रुप दिएर दलहरुसंग छलफल गरेको हो । छलफलमा विभिन्न १४ राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्