चिकित्सकको परामर्श शुल्क बढ्यो

काठमाडौं , फागुन ५ । चिकित्सकको परामर्श शुल्क बढेको छ । बुधबार अफिनका अध्यक्ष बसन्त चौधरी र संघका अध्यक्ष डा. त्रिलोचन कार्कीले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । योसँगै आजदेखि निजी अस्पतालको ओपीडी सेवा शुल्क बढेको छ ।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) र नेपाल चिकित्सक संघको संयुक्त बैठकले चिकित्सकको परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।

अब अफिन र संघको निर्णय अनुसार चिकित्सकको योग्यताको आधारमा ओपीडी शुल्क निर्धारण गरिएको छ । न्यूनतम शुल्क ३७० देखि अधिकतम ८२५ रुपैयाँ लिन पाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

निर्णय अनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस डाक्टरले ३७० शुल्क लिन पाउने छन् । पाँच वर्षमाथि अनुभव भएका चिकित्सकले ४५० रुपैयाँ शुल्ल लिनेछन् ।

विज्ञप्तिमा उल्लेख भएअनुसार डिप्लोमा गरेका चिकित्सकले पाँच वर्षभन्दा कम अनुभव भए ५१५ र ५ वर्षभन्दा बढी अनुभव भए ५९० रुपैया शुल्क पाउनेछन् । त्यसैगरी एमडी, एमएस, एमडीएस डाक्टरले पाँच वर्ष कम अनुभव भए ६६० र पाँच वर्षभन्दा बढी अनुभव भए ७०० लिन पाउनेछन् ।

सँगै डीमए तथा एमसीएच गरेका चिकित्सकको पाँच वर्ष भन्दा कम अनुभव भए ७७० र त्यो भन्दा बढी अनुभव भए ८२५ रुपैयाँ लिन पाउनेछन् । सँगै १० वर्षभन्दा बढी अनुभव भएका एमडी डाक्टरले ८२५ रुपैयाँ लिन पाउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अफिन र संघले २०७१ पछि शुल्क पुनरावलोकन नभएको भन्दै शुल्क बढाउने निर्णय गरेको दाबी गरेका छन् । यसअघि एमबीबीएस डाक्टरको शुल्क २५० र कन्सल्टेन्टको शुल्क ४५० रुपैयाँ तोकिएको थियो । त्यसैगरी अफिन र संघले मेडिकल अधिकृतको न्युनतम तलब ४२ हजार कायम गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्