मन्त्रिपरिषद् बैठक : विप्लव समूहबारे छलफल, प्रतिबन्ध फुकुवा गर्ने विषयमा के भयो कुराकानि ?

काठमाडौं , फागुन ११ । पछिल्लो समय सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गरिरहेको छ ।

सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परीणामनजिक पुगेपछि औपचारिकरुपमा एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाउँदै आन्तरिक रुपमा नै वार्ता गरिरहेको स्रोतले जनाएको छ ।

यसैबीच आज विप्लव कै विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बसेको छ । बैठकमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)बारे छलफल भएको छ ।

२०७५ फागुन २८ गते प्रतिबन्ध घोषणा गरिएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउनेबारे छलफल भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिए ।
“विप्लव समूहबारे छलफल भयो । एक–दुई दिनभित्रै वार्ता आह्वान होला । त्यसका लागि सरकारले वातावरण पनि बनाउँला,” उनले भने , “अरू नियमित एजेन्डामा छलफल भयो ।”

बालुवाटार र विप्लव समूहबीच अनौपचारिक पत्र आदानप्रदानसमेत भइसकेको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूहका तर्फबाट सोही समूहका नेता चिरन पुनबीच काठमाडौंमा नै वार्ता भएको थियो ।

यसैगरि आजै सुरक्षा परिषद्को बैठक बसेको छ । बिहान बसेको सुरक्षा परिषद् बैठकले पनि विप्लवकै गतिविधिबारे छलफल गरेको बताएको छ साथै निर्वाचन सुरक्षाका विषयमा पनि छलफल भएको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्