काँग्रेसले तत्काल सरकारमा जाने बारेमा सोच्नु हुदैन: अर्जुन नरसिंह केसी

काठमाडौँ , फागुन १३ । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले काँग्रेस तत्काल सरकारमा जाने बारेमा सोच्नु नहुने बताएका छन् ।

खरीबोटसँग पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कुरा गर्दै नेता केसीले काँग्रेसलाई गत निर्वाचनमा जनताले प्रतिपक्षमा बस्ने म्यान्डेट दिएकाले अहिले सरकारमा जाने बारे सोच्न नहुने बताएका छन् ।

नेता केसीले परिस्थिति निर्माण भएमा नेकपाकै कुनै पक्षलाई बाहिर बसेर समर्थन गर्नुपर्ने आफ्नो जोड रहेको टिप्पणी गरका छन् ।

उनले खरीबोटसँग भने,ुकाँग्रेस अहिले सरकारमा जाने बारेमा सोच्नु हुदैन । आवश्यक भएमा तीन बर्षको दोष र जस तिमीले नै लेऊ भनेर नेकपा कै एक पक्षको नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्नुपर्छ भन्ने मेरो विचार हो । यद्यपि हामी अहिले छलफल मै छौ र जनता र देशको पक्षमा नै निर्णय लिन्छौं ।

नेता केसीले नैतिक रुपमा राजीनामा दिनुपर्नेमा नदिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना समेत गरेका छन् । संसदीय प्रणालीमा यति हुदा प्रधानमन्त्री कुर्सिमा बस्न मिल्दैन तर अहिले पार्टीको विवाद र बिभाजन मिलाउन राजीनामा नदिएको हुनसक्ने उनको टिप्पणी रहेको छ । निर्वाचन आयोगले पनि तुरुन्त निर्णय गरेर नेकपाको विवाद टुंगाउनु पर्ने उनको जोड छ ।

अब विकसित हुने राजनीतिक घटनाक्रम नेकपाको विवाद कसरी अगाडी बढ्छ भन्नेमै रहेको बताउदै केसीले भने, ुअहिले पनि नेकपा कानुनी विभाजित भएको छैन । त्यसैले काँग्रेसले कसलाई समर्थन गर्ने या विरोध गर्ने भन्ने प्रश्न नै छैन । अहिले पनि कानुनी रुपमा नेकपाको बहुमतको सरकार छ । त्यसैले नेकपा कानुनी रुपमा विभाजित भए मात्र काँग्रेसले नयाँ सरकार बारे आफ्नो धारणा अवश्य बनाउछ ।

नेता केसीले काँग्रेस सधै संबिधानवादको पक्षमा रहेको भन्दै सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको टिप्पणी गरेका छन् । उनले ऐतिहासिक फैसला गर्ने न्यायमूर्तिहरुलाई धन्यवाद एवं बधाई दिदै देश अब संबिधानको बाटोमा फर्किएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्