‘ ओली समूह र कांग्रेस गठबन्धनको सरकार बन्छ’

काठमाडौं, फागुन १३ ।संसद पुनर्स्थापना भएपछि अहिले नेताहरुले छलफललाई तिब्र बनाएका छन् । यति बेला नेकपा दाहाल -नेपाल समुह विभिन्न दलका नेतासँग छलफलमा जुटेको छ ।

प्रतिनिधिसभा विघटनलाई बदर गरेको सर्वोच्च अदालतको फैसला आएपछि विभिन्न नेताहरुले यसको खुलेर पनि प्रशंसा गरेका छन् । साथै अब नेताहरुले प्रधानमन्त्री ओलीको राजिनामा समेत माग्न थालेका छन् । तर प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताएका छन् ।

यसरी दुई समुहमा विभाजित भएको नेकपाका दाहाल नेपाल समुह र ओली समुह आ आफ्नै रणनीतीमा जुटेका छन् । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा नेताहरु जुटेका हुन् । आगामी राजनितीक कोणका बारेमा नेताहरुले पनि आ आफ्नै टिप्पणी गर्न थालेका छन् ।

यता नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र कांग्रेस गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले यस्तो दाबि गरेका हुन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे एजेण्डा मिल्ने भएकाले नयाँ सत्ता समीकरणमा ओली र कांग्रेसको गठबन्धन बन्ने सिंहको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै एमसीसी पारित गर्ने पक्षमा रहेको उनले बताए ।साथै उनले अब नेपालमा भारत, अमेरिका लगायत विदेशी शक्तिको चलखेल बढ्ने बताए । संसद विघटनले नेपालमा भारत–अमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएको सिंहको तर्क छ । यसैगरि प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्नेसमेत उनले बताए ।

प्रतिनिधिसभा पुनर्स्थापनाले संविधान थप बलियो र विश्वसनीय भए पनि राजनीतिक अस्थिरता भने बढ्ने आफ्नो अनुमान रहेको उनले बताए । राजनीतिक अस्थिरताको कारक भने स्वयं ओली नै रहेको उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्