ओलीको चुनौतीः प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्

काठमाडौँ , फागुन १६ । संसद् पुनःस्थापना भएपछि नेकपाको दाहाल नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेका छन् । उनीहरुले अब तुरुन्त राजिनामा दिन भनेका हुन् तर यता प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन चुनौती दिएका छन् ।

उनले आज र गृह जिल्ला झापामा औद्योगिक क्षेत्र उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो चुनौती दिएका हुन् । प्रधानमन्त्री ओलीले संसद् पुनःस्थापना गर्न सफल भएका प्रचण्ड–नेपाल पक्षलाई प्रधानमन्त्रीबाट आफूलाई हटाएर देखाउन भनेका हुन् । उनले नेकपाको अध्यक्ष र संसदीय दलको नेता आफै भएको भन्दै आफुलाई हटाएर देखाउन चेतावनी दिए ।

‘संसद् त पुनःस्थापना भयो तर संसदीय दलको नेता केपी ओली हो, नेकपाको अध्यक्ष हो । अब प्रधानमन्त्री केपी ओली छ । उहाँहरु मसँग राजीनामा माग्नुहुन्छ । तपाईंहरुले जब संसद पुनःस्थापना गरेर ल्याउनुभभएको छ, मुद्दा लडेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् न ।’

प्रधानमन्त्री ओलीले हटाएपनि फेरी दुइतिहाई बहुमत ल्याएर आउने दाबि समेत गरेका छन् । उनले भने, ’अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् । हटाएर देखाउनुस्, हटाउनुभएछ भने फेरि तीन करोड जनताबाट दुई तिहाई ल्याएर आइन्छ ।’

साथै ओलीले प्रतिबन्धित नेकपा विप्लव समूहसँग चाँडै वार्ता गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्