शुक्रबारका लागि कांग्रेसले बोलायो संसदीय दलको बैठक, सांसदहरुलाई उपत्यका बाहिर नजान निर्देशन

काठमाडौं, फागुन १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक डाकिएको हो ।

फागुन २३ गते अपराह्न ४ बजे पुनस्र्थापित प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउने बताएको छ । प्रतिनिधिसभा बैठक आव्हान गरेपछि संसदमा पार्टीको भूमिका र रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।

अब शुरु हुने संसद अधिवेशनबाट प्रधानमन्त्री चयन गर्ने प्रक्रिया शुरु हुनेछ । प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसको भूमिका निर्णायक हुने हुँदा कांग्रेसले के निर्णय गर्छ भनी सबैको यति बेला चासोको विषय बनेको छ ।

बैठक बस्नेभएपछि नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई अहिले काठमाडौं नछाड्न निर्देश दिएको छ । फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देश गरिएको हो । अहिले नेताहरु छलफलमा जुटेका छन् ।

अबको राजनीति कसरी अगाडि लैजाने भन्ने विषयमा बहस भइरहेको छ । नेकपामा विवाद भइरहदा कांग्रेस भने यसमा मौन रहेको देखिन्छ । उता प्रधानमन्त्री ओली पनि आफ्नै रणनीती लगाएत जिल्लाका विभिन्न कार्यक्रममा व्यस्त छन् ।

 

प्रतिक्रिया दिनुहोस्