एनभीए भलिबल लिगको विजेताले तीन लाख पाउने

काठमाडौं , फागुन २० । आउदो चैतमा आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता हुने भएको छ । संघले बिहीबार पत्रकार सम्मेलन गर्दै आउँदो चैतमा आयोजना हुने लिगको लागि सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिएको छ ।

प्रतियोगिता चैत १९ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । प्रतियोगितामा पाँचौँ आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका आठ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा महिलातर्फ एपीएफ क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमण्ड एकेडेमी, ढोरपाटन भलिबल क्लब र भरतपुर मेट्रो खेलकुद परिषद् खेल्नेछन् । पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, बुद्धटोल भलिबल टिम, नयाँ बजार, मणिमुकुन्दले प्रतिस्पर्धा गर्नेछन् ।

यसअन्तर्गत पाँचौँ संस्करणको विजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । अघिल्लो संस्करणमा दुई लाख ५० दिइएकोमा योपटक भने महिला तथा पुरुष विजेता टोलीले तीन लाख पाउने भएका हुन् ।

यस्तै, उपविजेताले एक लाख ५० हजार प्राप्त गर्दा तेस्रो हुने टोलीले ७६ हजार र चौथोले ३७ हजार ५०० रुपैयाँ पाउने नेपाल भलिबल संघले जनाएको छ ।

योपटक सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार तथा विधागततर्फ उत्कृष्ट खेलाडीहरुले जनही १० हजार पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्