आईपीओमा न्यूनतम १० कित्ता शेयर दिने नीति परिवर्तन,५० कित्ताको लागी यसरी हुँदैछ तयारी !

काठमाडौं , फागुन २१ । सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ वितरण गर्ने नीति परिवर्तन गर्ने तयारी भएको छ । नेपाल धितोपत्र बोर्डले आईपिओ बाँडफाँडमा हाल प्रयोग हुँदै आएको १० कित्ते नीति परिवर्तन गर्ने संकेत गरेको छ ।

आवेदन दिने सबैले न्यूनतम १० कित्ता पाउँदा प्रभावकारी भए पनि केही विकृति आएको भन्दै यसलाई हटाउनको लागि अध्ययन भईरहेको बोर्डले जनाएको छ । अहिलको १० कित्ते नीति परिमार्जन गर्नुपर्ने महशुस भएको नेपाल धितो पत्र बोर्डका अधिकारीले बताएका छन् ।

१० कित्ते नीतिले शेयरमा लगानी गर्न चाहनेहरु सबैको हातमा शेयर पुगेपनि वेच्नकालागि समस्या भएको बताइएको छ । बोर्डले न्यूनतम ५० कित्ता पु¥याउने गरि छलफल गरिरहेको जनाएको छ । बोर्डका अनुसार परिमार्जन गर्ने निर्णय गर्नु अघि अझै केहि कम्पनीको आईपिओ बिक्रि र बाँडफाँडलाई अध्ययन गरिने बताएको छ ।

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरिरहेको र त्यसमा न्युनतम ५० कित्ता आवेदन दिनु पर्ने ब्यबस्था गरिएको छ ।

कुनै ठूलो आकारको आईपिओ आएमा र सबैले शेयर पाउने सम्भावना रहेमा आईपिओको आकार अनुसार पनि बाँडफाँडको नियम बन्न सक्ने पनि बताएका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम शेयर बाँडफण्ड हुदै आएको छ । निर्देशिकाको दफा ३० मा धितोपत्र बाँडफाँड गर्दा सर्वप्रथम सबै आवेदकलाई दश कित्ताको दरले धितोपत्र बाँडफाँड गर्नु पर्ने ब्यबस्था छ ।

प्रतिक्रिया दिनुहोस्