छलफलका लागि एमाले र माओवादी केन्द्रलाई पत्र पठाउँदै आयोग

काठमाडौं, फागुन २५ । छलफलका लागि एमाले र माओवादीलाई निर्वाचन आयोगले पत्र पठाउँदैछ । सर्वाेच्च अदालतको फैसलासँगै ब्युँतिएका यी दुई पार्टीलाई आयोगले आज पत्राचार गर्ने भएको हो ।

दुई दललाई पुरानै अवस्थामा कायम रहने कि पुनः एकीकरण गरेर नयाँ नाममा दर्ता हुने भन्ने विषयमा छलफल गरिन तयारी भएको आयोग स्रोतले जानकारी दिएको छ ।

ऋषि कट्टेलले निर्वाचन आयोगमा पहिले दर्ता आफ्नो नेकपाले वैधानिकता पाउनुपर्ने दाबी गर्दै दुई वर्षअघि हालेको मुद्दामा सर्वाेच्च अदालतले आइतबार उनकै पक्षमा फैसला गर्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको कानुनी मान्यता खारेज गरेको हो ।

साथै एकीकरण हुनुअघिकै एमाले र माओवादी केन्द्र नै दलका रूपमा कायम रहेको फैसला गरेपछि नेकपा भंग गर्दै सोमबारै यी दुई दल अलगिएका छन् । निर्वाचन आयोगका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि अब यी दुई दल कि पुरानै रूपमा फर्किनुपर्छ कि पुनः एकीकरण गर्ने भए नयाँ नाम राखेर दल दर्ता गरिनु पर्छ ।

अब नेकपा नाम भने राख्न पाइने छैन । किनभने यसको स्वामित्व ऋषि कट्टेलको पार्टीले पाइसकेको छ । ०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्