काठमाडौं मेयर कपमा पुलिस विजय

काठमाडौं, फागुन २५ । काठमाडौं मेयर कपमा पुलिस विजय भएको छ । आज भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लब विजयी भएको हो । उसले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेसँगै जित दर्ता गर्न सफल भएको हो ।

आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । पुलिसका लागि सुनिल धमलाले सर्वाधिक ३९ रनको योगदान दिए । १७.४ ओभरमा साहब आलमले बोल्ड गराउनुअघि उनले ४८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

पवन सरार्फले अविजित २२ र दिलीप नाथले १५ रनको योगदान दिए ।  अन्य ब्याट्सम्यानले दोहारो अंकमा रन जोड्न सकेनन् । आर्मीका लागि सातै विकेट साहब आलमले लिए ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले ३०. १ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनको योगफल तयार पारेको थियो ।

उसका लागि कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । लोकेश बमले सर्वाधिक ३२ रनको योगदान दिए । ३०.१ ओभरमा ललित राजवंशीले एलबिडब्ल्युको सिकार बनाउनुअघि उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

विक्रम सोबले १४ र रोहित पौडेलले १३ रनको योगदान दिँदा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।आर्मीलाई सस्तैमा समेट्न पुलिसका सागर ढकालले ५, पवन सरार्फले ३ र ललित राजवंशीले २ विकेट लिए ।

पहिलो खेलमा बागमती प्रदेशलाई २ रनले हराएको पुलिस दोस्रो खेलमा नेपाल एपिएफ क्लबसँग १ विकेटले पराजित भएको थियो । पहिलो खेलमा एपिएफसँग १ विकेटको पराजय बेहोरेको आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर ११ लाई ५ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्