पन्तविरुद्ध मुद्दा हालेकी कोमल वलीले भनिन्- क्षमा दिन सक्दिन, ४ वर्ष कैद र ४० हजार जरिवाना माग

काठमाडौं , फागुन २५ । राष्ट्रियसभा सदस्य कोमल वलीले आफूमाथि ‘लैङ्गिक हिंसाजन्य’ अभिव्यक्ति दिएका नेकपा एमालेका नेता रघुजी पन्तविद्ध मुद्धा दायर गरेमकी छन् । उनले पूर्वमन्त्री पन्तविरुद्ध मंगलबार जिल्ला अदालत, काठमाडौंमा आज गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेकी हुन् ।

त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पन्तलाई क्षमा दिन नसक्ने बताएकी छन् । उनले पन्तको अभिव्यक्तिले आफूलाई चोट पुगेको बताउँदै क्षमा दिन नसकने बताएकी हुन् ।पन्तले सरी भनिसकेकाले माफी दिन सकिन्नथ्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन यस्तो जवाफ दिएकी हुन् ।

उनको त्यो शब्दले आफूलाई मात्र नभई समग्र आमा दिदीबहिनीलाई चोट पुगेकाले मुद्धा दर्ता गर्ने निर्णयमा पुगेको बताईन् । उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरेकी हुन् ।

उनले गाली गरेवापत १ वर्ष कैद र १० हजार जिरवाना तथा बेइज्जती गरेवापत २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना र त्यसको विद्युतीय माध्यमबाट प्रचार प्रसार गराएवापत थप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग दावी गरेकी हुन् ।

उनले पन्तको अभिव्यक्तिबाट आफ्नो प्रतिष्ठामा परेको असर र विद्युतीय र अन्य माध्यमबाट प्रचार प्रसार गरी बेइज्जती गरेकाले मनासिव क्षतिपूर्ति र मुद्दामा लागेको खर्च भराउन पनि माग गरेकी छन् ।
गत फागुन १५ गते नेता पन्तले पार्टीमा बिसौं वर्ष योगदान गरेका महिलाहरु भए पनि कोमल वलीले राष्ट्रियसभाको टिकट पाएको भन्दै उनीविरुद्ध लैंगिक हिंसाजन्य टिप्पणी गरेका थिए ।

राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी नेता पन्तले जानी जानी आफूलाई प्रतिनिधिपात्र बनाई समग्र महिलाप्रति नै अपमान हुने गरी अभिव्यक्ति दिनु महिलाविरुद्धको जघन्य हिंसा भएको वलीले निवेदनमा भनेकी छन् ।

‘देशको कुल जनसंख्याको आधा भन्दा बढी अंश ओगट्ने महिलालाई संरक्षण संवर्द्धन गर्ने कार्यमा नेपालको संविधान राजनीतिक दल तथा त्यसका नेताहरु लागि पर्नुपर्ने मुख्य अभिभारा पूरा गर्ने हैसियतको व्यक्तिको मप्रतिको लाञ्छित अभिव्यक्तिले मेरो अपमान भएको छ’ वलीले भनेकी छन् ।

महिलाको स्वतन्त्र पहिचान, आत्मसम्मान र क्षमतालाई महत्व नदिई पुरुषसँगको निकटताबाट नै महिलाको राजनीतिक भविष्य बन्ने गरेको जस्ता अभिव्यक्ति प्रकट गरी महिलाको चरित्र र आचरणमाथि प्रश्न उठाउने पन्तको कार्यले आफ्नो मात्र नभई समग्र महिला वर्गपति गाली बेइज्जतु भएको वलीले बताएकी छन् । उनको त्यो अभिव्यक्तिले पन्तको निकै आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्