निर्वाचन आयोगद्वारा नेकपा औपचारिक रुपमा खारेज, पुरानै अवस्थामा अब एमाले र माओवादी

काठमाडौं, फागुन २५ । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज गरेको छ।

मंगलबार बसेको आयोगको पदाधिकारी बैठकले नेकपा खारेज गरेको हो । सर्वोच्चको फैसला अनुसार आयोगले नेकपालाई खारेज गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  बताए।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) उत्प्रेषणको आदेशबाट बदर भएको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको विज्ञप्ति मार्फत जनाएको हो ।

दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जानकारी दिने पनि आयोगले जनाएको छ । योसँगै अब ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काएको हो।

यसैबीच  आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।

यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगले २०७५ जेठ २३ गते नेपाल कम्युनिस्ट पार्टी ९ने क पा० नाममा दर्ता गरेको थियो । तर सर्वोच्च अदालतले गत आइतबार ने क पाको नाम निर्वाचन आयोगमा पहिले नै दर्ता भएको पार्टीसँग मिल्दोजुल्दो भएको भन्दै खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्