रुपन्देहीबाट पेस्तोलसहित ३ युवा पक्राउ

काठमाडौं , चैत १ । रुपन्देहीमा एक थान पेस्तोलसहित ३ जना युवा पक्राउ परेका छन्। जिल्लाको दक्षिणी क्षेत्र मर्चवारबाट कटुवा पेस्तोलसहित ती युवा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ बेतकुइँयाका २४ वर्षीया सुरज हरिजन, सोही वडाका २३ वर्षीया तौलन हरिजन र २६ वर्षीया सकिल मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

पक्राउ परेका तीनै जना युवा यूपी ५५ एन ४९४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार थिए। मोटरसाइकल रोकेर खानतलासी गर्दा उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको रुपन्देही प्रहरीका प्रवक्ता डएसपी सत्यनारायण थापाले बताए।

प्रहरी चौकी पाण्डे पिपरहवाका नेपाल प्रहरीका असई कमलप्रसाद आचार्यको कमाण्डमा ३ जना र सशस्त्र प्रहरी बल बीओपी पुर्नीकोटबाट खटिएका २ जना सशस्त्र प्रहरी जवानको संयुक्त टोलीले उनीहरुलाई मर्चवारी गाउँपालिका–७, कन्चनापुरबाट कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको डीएसपी थापाले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर हतियारबारे थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्