घट्दो क्रममा रहेको संक्रमण दर फेरि बढ्न थाल्यो , नेपालमा कोरोनाको दोस्रो लहरको त्रास कति ?

काठमाडौँ , चैत ११ । नेपालमा केही महिनादेखि घट्दो क्रममा रहेको संक्रमण दर फेरि बढ्न थालेको छ  । उता छिमेकी मुलुकमा भाइरस संक्रमण दिनदिनै बढ्दो क्रममा छ । यसले गर्दा पनि नेपालमा फेरि जोखिम देखिएको हो ।

कोभिड-१९ को थप संक्रमण रोक्न भन्दै नेपालमा लकडाउनको घोषणा भएको १ वर्ष पूरा भएको छ । गत वर्षको चैत ११ गतेदेखि लागू हुने गरी सरकारले चैत १० गते लकडाउन घोषणा गरेको थियो । झन्डै चार महिना लामो लकडाउन साउन ७ गतेबाट अन्त्य गरिएको थियो ।

फेरि पनि कोरोनाको दोस्रो लहरको त्रास हुने चिन्ता बढेको छ । छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ र केहि राज्यमा लकडाउन घोषणा गरिएको छ । योसँगै नेपालमा त्रास बढेको छ । धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला ? ’

यसैबीच सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र ‘डीसीसीएमसी’ ले गर्छ। केन्द्रमा संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)यससम्बन्धी निर्णय गर्न सरकारलाई सुझाव दिने उच्चस्तरीय संयन्त्र हो।

कोरोना महामारी उच्च रहेका बेला विद्यालय, अन्य शैक्षिक संस्था, सरकारी भवन लगायतलाई क्वारेन्टिन र आइसोलेसन बनाइएको थियो। गृहले तयारी हालतमा राख्न सकिने क्वारेन्टिन र आइसोलेसनको विवरण पनि पठाउन जिल्ला प्रशासनलाई निर्देशन गरेको छ।

गृहले होटल रेस्टुराँ, डान्सक्लब, पार्टीलगायत रात्रिकालीन व्यवसाय सञ्चालनमा जोखिम हेरेर मापदण्ड हेरफेर गर्ने अधिकार प्रशासनलाई दिइएको छ। संक्रमणको जोखिम पुनः बढ्न थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्डमा कडाई गर्न निर्देशन दिएको हो ।

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्ड कडाई गर्न निर्देशन दिइएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि सीमामा कडाई गर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउन, अनावश्यक भीडभाड बन्द गराउन निर्देशन दिइएको प्रवक्ता बुढाको भनाई छ ।

यता जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएका कारण छिमेकी मुलुकसहित अन्य देश झैं नेपालमा पनि संक्रमण दर पुनः उच्च हुनसक्ने आंकलन गर्न थालीएको छ । भारतमा हरेक दिन हजारौं संक्रमित हुन थालेपछि नेपाली स्वदेश फर्कने क्रमसँगै फेरि जोखिम बढेको हो ।

यस्तो बेला सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आवश्यक रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् । गत वर्षझैं मुलुकभर पुनः लकडाउन घोषणाको सम्भावना भने नरहेको प्रवक्ता डा.गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्