दोस्रो चरणको कोरोना भाइरस फैलन थालेसँगै त्रास बढ्यो

काठमाडौं , चैत १२ । एक वर्षदेखि मुलुक कोभिड–१९ को महामारीका कारण आक्रान्त बनिरहेका बेला फेरि दोस्रो चरणको कोरोना भाइरस फैलन थालेपछि त्रास बढेको छ ।

छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना भाइरसका बिरामीहरू बढ्न थालेपछि नेपालमा पनि त्रास बढेको हो । खुला सिमानाका कारण आवतजावत बढिरहेको र संक्रमण फेरि बढ्न सक्ने आकलन गर्दै कोभिड संक्रमणको जोखिमविरुद्ध लड्न सरकारी संयन्त्रहरूले रणनीति तय गर्न थालेका छन् ।उनीहरूले तय गरेको प्रारम्भिक रणनीतिमा खासगरी भीडभाडका गतिविधि नियन्त्रण गर्ने, जोखिम कम गर्न क्वारेन्टाइन र आइसोलेशनलाई तयारी अवस्थामा राख्ने, सीमानाकामा सतर्कता बढाउनेदेखि परिस्थिति हेरेर बन्दाबन्दी गर्नेसम्मको छ ।

गृह मन्त्रालयका अनुसार देशभर भीडभाडका गतिविधि हुन नदिन प्रशासनलाई परिपत्र भइसकेको छ । त्यस्तै क्वारेन्टाइन र आइसोलेशन सेन्टरलाई समेत तयारी अवस्थामा राख्न थालिएको छ । संक्रमण बढिरहेको बेला फेरि क्वारेन्टाइन र आइसोलेशन आवश्यक पर्न सक्ने आकलन गर्दै अहिले विवरण संकलनको काम शुरू भइसकेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्