थ्री नेसन्स कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौँ , चैत १४ । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको त्रिदेशीय कपमा नेपालले आज आफ्नो समूह चरणको दोस्रो तथा अन्तिम खेल खेल्दैछ । नेपाल बङ्गलादेशविरुद्ध आज साँझ दशरथ रंगशालामा उत्रँदैछ ।

त्रिदेशीय कपको फाइनलमा पुग्न आजको खेलमा नेपाललाई कम्तिमा बराबरी आवश्यक रहेको छ । तर, बंगलादेशले जितेको अवस्थामा भने नेपालको फाइनल खेल्ने सम्भावना सकिनेछ ।

यसअघि, त्रिदेशीय कपको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानलाई १-० गोल अन्तरले पराजित गरिसकेको छ । दोस्रो खेलमा नेपाल र किर्गिस्तानले गोलरहित बराबरी खेलेपछि बंगलादेश त्रिदेशीय कपको फाइनलमा पुगिसकेको छ ।

आजको खेलमा नेपाल विजेता बनेमा पर्सी सोमबार हुने फाइनल खेल्नेछ भने पराजित भएको अवस्थामा नेपालले फाइनल खेल गुमाउने छ । तर, फाइनलका लागि किर्गिस्तानलाई भन्दा नेपाललाई नै सहज देखिएको छ ।

त्रिदेशीय कपमा नेपाल र बंगलादेशले सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारेका छन् । तर, किर्गिस्तानको भने २३ वर्षभन्दा मुनिको टोली सहभागी भएको छ ।

प्रतिक्रिया दिनुहोस्