हिउँदे अधिवेशन अन्त्य गर्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं, चैत १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले उँदे अधिवेशन स्थगित गर्ने योजना बनाएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने बताइरहेका बेला ओलीले यस्तो तयारी थालेका हुन् ।

प्रधानमन्त्री ओलीले अहिलेको अधिवेशन स्थगित गरी वैशाखमा बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन अबको केही दिनमा फिर्ता लिने बताइरहेका बेला ओलीले चालु अधिवेशन स्थगित गरेर बजेट अधिवेशनको तयारी गर्ने बालुवाटार निकट स्रोतले जानकारी दिएको छ ।

सांसदलाई विधेयकहरू नदिई बन्धक बनाएको भन्ने आरोप लागिरहेका बेला सोमबार प्रधानमन्त्री ओली र सभामुख अग्नि सापकोटाबीच भेटघाट भएको थियो । दुवै जनाले सांसदलाई सुचालु गर्ने विषयमा छलफल गरेका थिए । उनीहरूबीच संसद् अधिवेशन स्थगित गरेर बजेट अधिवेशन बोलाउने विषयमा पनि छलफल भएको स्रोतले जानकारी दिएको छ ।

यसअघि तत्कालीन नेकपा ९एमाले र माओवादीबिचको पार्टी एकतापछिको पार्टी० मा आफू अप्ठ्यारोमा पर्दै जान थालेपछि ओलीले सभामुख सापकोटासँग संवाद र परामर्श बिनै प्रतिनिधिसभाको जारी अधिवेशन अन्त्य गरिदिएका थिए । त्यसपछि नै प्रधानमन्त्री र सभामुखबीच मनमुटाब शुरु भएको थियो । अहिले पनि सभामुखले समय मागेको धेरै दिनपछि मात्रै ओलीले सोमबार समय दिएका थिए ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसो गर्दा अर्को ३० दिन लम्बिने भएकाले वैशाखको अन्त्यतिर मात्रै बजेट अधिवेशन आह्वान गर्ने र त्यस अधिवेशनमा सरकारले विश्वासको मत लिनु परे पनि जेठ १५मा आफूले लोकप्रिय बजेट प्रस्तुत गरेर मात्रै बाहिरिने सङ्केत ओलीले दिएका छन् ।

सभामुख सापकोटालाई सोमबारको भेटमा यही संसद्मा विधेयकहरू आउने भएकाले केही दिन संसद् राम्रोसँग सञ्चालन गर्न सहयोग र समन्वय गर्न प्रधानमन्त्रीले आग्रह गरेका थिए । साथ साथै ओलीले निकट दिनमै बजेट अधिवेशन आह्वान गर्नुपर्ने बाध्यता रहेको पनि बताएका थिए । प्रधानमन्त्री ओलीले यसअघि पनि बजेट अधिवेशनको समय नजिकिँदै गएको भन्ने अभिव्यक्ति दिएर संसद् स्थगित गर्ने सङ्केत गरेका थिए ।

केही दिन अघि बालुवाटारका नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरूसँग बजेट अधिवेशन आउन लागेकाले सरकार बजेट निर्माणको तयारी रहेको बताउँदै आफ्नो क्षेत्रको विकासमा आवश्यक पर्ने बजेट माग गर्न भनिएको थियो । त्यहाँ सांसदहरूलाई सम्बोधनको क्रममा ओलीले केही दिनमा संसद् बैठक स्थगित हुनसक्ने सम्भावनाबारे सङ्केत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्