कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, सरकारबारे छलफल हुने

काठमाडौं , चैत २० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेछ ।

बैठकमा उपसभापति विमलेन्द्र निधिले अरु दलबाट आएकाहरुको समायोजन र महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानविनका लागि समय थप गर्न महाधिवेशनको कार्यातालिकालाई हेरफेरसम्बन्धी प्रस्ताव पेस गर्ने औपचारिक एजेण्डा भएको बताउ । नयाँ सरकार गठनबारे पछिल्लो समय काँगे्रस अलमलमा देखिएको छ ।

आजको बैठकमा सरकारकै मुद्दाले प्राथमिकता पाउने सम्भावना छ । माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको छ भने जनता समाजवादी पार्टी (जसपा) विभाजित देखिन्छ । डा। बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष कांग्रेस, माओवादी र जसपा गठबन्धन बनाउने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वादमा छन् ।

जसपामा देखिएको विवादलाई देखाएर कांग्रेस सभापति देउवाले सरकार गठनमा अग्रसरता दिएका छैनन् । पार्टीका नेताहरुसँग देउवाले अहिले नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा जसपाले भोट नहाल्ने तर्क गर्दै आएका छन् ।

स्रोतकाअनुसार आजको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले यसमा नयाँ प्रस्ताव राख्न सक्छन् । पौडेल समूहका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्छ भन्नेमा छन् र, सभापति देउवाले अहिले अविश्वासको प्रस्ताव लैजाँदा असुरक्षित महसुस गरेको भए अर्को व्यक्तिलाई अघि सारेर भएपनि अघि बढ्नुपर्ने मत रहेको एक नेताले सुनाए ।यसबारे केन्द्रीय कार्यसमिति बैठक अगाडि पौडेल समूहका नेताहरुबीच छलफल पनि हुँदैछ ।

सभापति निकट नेताहरुले भने सरकार गठनको परिस्थिति बनिनसकेको तर्क गर्दै आएका छन् । तर वरिष्ठ नेता पौडेलले राख्ने प्रस्तावले कांग्रेसलाई सरकार गठनबारे एउटा निर्णयमा पुर्‍याउन सक्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्