जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध दुई वर्ष थप्यो

काठमाडौं, चैत २४ । जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध दुई वर्ष थप गरेको छ ।

उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुङ्ग्याउन ठोस पहल नगरेको भन्दै जापानले प्रतिबन्ध थप गरेको हो ।

जापानले लगाएको प्रतिबन्धमा उत्तर कोरियाले विश्वका अरु देशसँगको व्यापारमा प्रतिबन्ध लगाउने तथा मानवीय उद्देश्य बाहेक उत्तर कोरियामा दर्ता भएका जहाजहरुलाई जापानी बन्दरगाहमा प्रवेश नदिइने उल्लेख छ ।

उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम विरुद्ध संयुक्त राष्ट्रसंघीय प्रतिबन्धलाई पनि जापानले अनुशरण गर्नेछ । राष्ट्रसंघीय प्रतिबन्धमा हातहतियारको व्यापारमाथि प्रतिबन्ध, उत्तर कोरियाली सम्पत्ति रोक्का, जनता–जनताबीचको आदानप्रदान तथा शिक्षा र तालिममा प्रतिबन्धहरु समावेश रहेका छन् ।

जापानका मुख्य सचिव कात्सुनोबु काटोले मन्त्रिपरिषदको बैठकले उत्तर कोरियामाथिका प्रतिबन्धलाई अरु दुई वर्ष बढाउने निर्णय गरेको जानकारी दिएका छन् । यसअघि घोषणा गरिएको प्रतिबन्धको म्याद आगामी अप्रिल १३ मा समाप्त हुँदैछ ।

 

 

प्रतिक्रिया दिनुहोस्