माओवादी केन्द्रको गृहमन्त्री थापासहित सात मन्त्रीलाई कारवाहीः पार्टीबाट निष्काशन र सांसद पद नै खोसिने

काठमाडौँ , चैत २४ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री थापासहित सात मन्त्रीलाई कारवाही गरेको छ । पार्टी त्यागेको करिव एक महिनापछि सात मन्त्रीहरुलाई माओवादी केन्द्रले कारवाही गर्ने निर्णय गरेको हो ।

कारवाहीमा पर्नेहरुमा गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभू साह, उर्जामन्त्री टोपबहादुर रायमाझी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, खेलकुदमन्त्री दावा लामा र खानेपानी मन्त्री मणि थापा रहेका छन् । उनीहरुलाई पार्टीबाटै निष्काशन गर्ने निर्णय गरिएको छ ।

यस्तै बादल, भट्ट, साह, चौधरी र रायमाझीको सांसद पदसमेत खोस्ने निर्णय पनि गरेको छ। यता उनीहरुलाई कारवाहीको पत्र तयार भइसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा पुर्याएको थियो। त्यसपछि यी मन्त्रीहरुले माओवादी त्यागेको बरु सांसद पद गए पनि केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमै रहने निर्णय लिएका थिए।

अहिले यी मन्त्री एमालेमै गएका छन् । आफ्नो पार्टीमा नफर्केपछि माओवादीले यस्तो निर्णय गरेको हो ।केन्द्रले फागुन २९ गते, चैत्र १ गते र त्यसपछि एक पटक गरि तीनपटक यी मन्त्रीहरुलाई पार्टीमा फर्किन निर्देशन दिएको थियो

भने आफ्नो धारणा पेश गर्न पनि आग्रह गरेको थियो। तर उनीहरुले वास्ता नगरेपछि अब भने कारवाही गर्ने सम्म माओवादी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्